सरकारी वनमा पार्क निर्माण गरिएको भन्दै विरोध

इलाम । इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएकामा नेपाली काँग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ ।

उक्त कार्यसमितिले विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो। माई नगरपालिका–२ र ८ मा अवस्थित ह्याप्पी ड्रिम्स द्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हड्पेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ । समाचारमा फनपार्क सञ्चालक, वनका कर्मचारी तथा राजनीति दलका प्रतिनिधिको मिलेमतोमा सो कार्य भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।

सरकारी वन अनधिकृत रुपमा मास्न र फँडानी गर्न नपाइने भए पनि वातावरणीय दृष्टिले अति संवेदनशील चुरे क्षेत्रमा यस्तो कार्य हुनु असामान्य भएको भन्दै तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरिएको छ । काँग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरप्रमुख खम्बसिंह लिम्बू, वन कार्यालयका तत्कालीन प्रमुख इन्द्रनारायण भण्डारी र पार्क सञ्चालक दिनेश शिवाकोटीउपर छानबिन हुनुपर्ने माग स्थानीयवासीले समेत गर्न थालेका छन् ।

साथै अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भएकाले यस घटनालाई सामान्य हिसाबले हेर्न नहुने बताइएको छ । सामुदायिक वनको ४५ रोपनी र करिब ३०० रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण भएको उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि स्थानीयवासीले उजुरी दिएको बताइएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार