सागर थापा : स्ववियू चुनावमा ह्याट्रिक, परीक्षामा जनप्रतिनिधि बन्ने रहर

विराटनगर । २०५५ सालमा विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियूमा नेविसंघको ‘क्लिन स्वीप’ रोक्ने एक्लो उम्मेदवार हुनुहुन्थ्यो, सागर थापा । त्यसअघि स्ववियू सभापति निर्वाचित अनेरास्ववियुका ऋषिकेश पोखरेल दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दा उनको टिमबाट सागर थापा बाहेक अरू सबै पराजित हुनुभएको थियो ।

नेविसंघका उपेन्द्र गच्छदार सभापतिमा निर्वाचित भएको त्यो चुनावमा सहसचिवमा जितेका थापाले स्ववियुमा अखिलको बीउ जोगाउनुभएको थियो । अखिलको प्रभाव रहेको महेन्द्र मोरङमा पोखरेलसहित टिम पराजित हुनुको मुख्य कारण माउ पार्टी नेकपा (एमाले) को विभाजन थियो । ‘नेकपा (माले) तिर लागेका विद्यार्थीले आफ्नो उम्मेदवार भए पनि नेविसंघलाई भोट मागे’ त्यसबेलाका मतदाता पुष्पराज थपलिया सम्झन्छन्, ‘एमाले अखिलका सबै उम्मेदवार पराजित हुँदा सागरले जिते ।

त्यसको दुई वर्षपछि ०६० सालमा त उनी स्ववियू सभापति नै बने ।’त्यसबेला थापाका सचिव विराटनगरका महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली हुनुहुन्थ्यो । थापाले विराटनगरको गोग्राह स्कुलमा अखिलको राजनीति सुरु गर्नुभएको थियो । २०४९ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँ महेन्द्र मोरङ बहुमुखी क्याम्पसको राजनीतिमा छाउनुभएको थियो ।

त्यहींबाट मानविकी संकायमा स्नातक गरेका उहाँ पार्टी राजनीतिमा जोडिएर २०६६ सालमा नेकपा (एमाले), मोरङ जिल्ला कमिटी सदस्य बन्नुभयो । तत्कालीन माओवादी र एमालेको एकतापछि बनेको नेकपाको महानगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । एकीकरण हुनुअघि पनि उहाँ एमालेको नगर अध्यक्ष नै हुनुहुन्थ्यो ।२०६२/६३ को जनआन्दोलनका क्रममा २८ दिन जेल परेका थापा यस पटक एमालेबाट विराटनगरको मेयरमा उठ्नुभएको छ ।

१९ वर्षपछि फरक ढंगको चुनावी मैदानमा उत्रिएका उहाँलाई विजयी बन्न विद्यार्थी राजनीतिमा जस्तो सजिलो भने छैन । एमाले विभाजनपछिको यो पहिलो निर्वाचनमा उनीविरुद्ध पाँचदलीय गठबन्धन छ । तैपनि ४६ वर्षीय थापा भन्नुहुन्छ, ‘धनमा गरिब भए पनि जनसम्पर्क र सम्बन्धका हिसाबले अरू उम्मेदवार भन्दा म धनी छु ।’

सत्तारुढ पाँचदलीय गठबन्धनका नागेश कोइरालासहित १३ जनासँग मेयरमा उहाँको प्रतिस्पर्धा हुँदैछ । विराटनगर–४ मा डेरा लिएर बसेका उनी १२ वर्षयता एमाले विराटनगरको विभिन्न तहमा काम गरिरहनुभएको छ । थापाले आफ्नो एजेण्डा पनि तयार पार्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘मैले चुनाव जिते पाँच वर्षपछि मतदाताहरूले आफूलाई व्यवस्थित, समुन्नत, सुकुम्बासी समस्या र डुबानमुक्त सहरका नागरिक भएको पाउनेछन् ।’

बागीको आश

२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका १९ वडामा एमालेले प्राप्त गरेको मत १६ हजार १२८ हो । कांग्रेसले आफ्नो गढ मानेको विराटनगरमा उहाँलाई जित्न सहज छैन । सत्तारुढ गठबन्धन भित्रको खटपट र कांग्रेसको दुई खेमाको एकअर्का प्रतिकल भूमिका भने थापाको लागि अनुकल हुने सम्भावना छ । गठबन्धनबाट मेयर र उपमेयरमा बागी उम्मेदवार छन् । उनीहरूले गठबन्धनको भोट काट्ने अवस्था छ । थापा पाँच वर्षयता चुनाव लक्षित गतिविधिमा हुनुहुन्थ्यो । सबैसँग परिचित र सामान्यभन्दा सामान्य मतदाताको पनि सहज पहुँचमा हुनु उहाँको सवल पक्ष हो ।

‘म भुई मान्छे हुँ, भुई मान्छेहरूकै प्रतिनिधित्व गरेर उम्मेदवार बनेकोले चुनाव जित्छु’, उहाँ भन्नुहुन्छ । विराटनगरका लागि उनी परिचित, युवा र नयाँ उम्मेदवार हुन् । कांग्रेसका उम्मेदवार नागेश कोइरालाको तुलनामा बढी जनसम्पर्क हुनु थापाको सवलता हो ।तीन दशकयता विराटनगरको समाज र राजनीतिमा छु,’ उहाँ भन्नुभहुन्छ, ‘विराटनगरबासीको सहयोगी भएकाले चुनाव जित्छु ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार