सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका दुई उम्मेदवारको मत बराबर

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएको छ । कांग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाउनुभएको छ ।

अन्तिम मतपरिणामअनुसार उहाँहरुले ६७३/६७३ मत ल्याउनुभएको छ । मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । गोलाप्रथाबाट नतिजा टुंगो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले जानकारी दिनुभयो ।

दुबै उम्मेदवारले आधा–आधा कार्यकाल गर्नुपर्ने बताउँदै आएका छन् । तर कानुनमा त्यस्तो व्यवस्था नभएकाले गोलाप्रथाबाट टुंगो लगाइने निर्वाचन अधिकृत भट्टले बताउनुभयो । ‘उहाँहरुले आफैं आयोगमा कुरा गर्छौं भनेर भन्नुभएको छ, हामी पनि परामर्श गर्दैछौं,’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार