अब कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक रुपमा अपील गर्नुभएको छ । समाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उहाँले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताउनुभएको छ ।

मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गर्नुभएको छ । ‘यो सबैको लागि निसन्देहः खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौं,’ उहाँले लेख्नुभएको छ,’कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अप्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा हृदयदेखि नै धन्यवाद छ ।’

मेयर साहले फोहोर उठ्नु मात्रै समस्याको समाधान नभएको भन्दै अझै धेरै गर्न बाँकी कुरा रहेहको बताउनुभएको छ । ‘फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन,’ उहाँले लेख्नुभएको छ । उहाँले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टएिर निस्किनुपर्ने बताउनुभएको छ ।

‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौं भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन,’ उहाँले लेख्नुभएको छ,’अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौं,

तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पुरा गरिदिनु हुनेछ ।’ महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु नदोहोर्‍याउने मेयर साहले बताउनुभएको छ । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्ने र महानगरबासीले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने नगर्ने उहाँको प्रतिवद्धता छ ।

‘तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टएिका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ,’ मेयर साहले फेसबुकमा लेख्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार