आईजीपीद्वारा विश्वराज पोखरेलको बिदा अस्वीकृत

काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) ले एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत गर्नुभएको छ । यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गर्नुभएको हो ।

पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाउनुभएको थियो । सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिनुभएको छ । प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्दै घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताउनुभयो ।

आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ देखि बिदामा हुनुहुन्थ्यो । हालैको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मानव स्रोत विभागबाट प्रदेश समन्वय विभागमा सरुवा भएका उनलाई मनसुनको मौसममा बिदा दिनु पनि अनुपयुक्त हुने आईपीपीको निष्कर्ष छ । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका विश्वराजको मुद्दा विचाराधीन अवस्थामा छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार