एमालेले हस्ताक्षर गर्न नमानेपछि हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित

मकवानपुर । एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ । एमालेका कार्यपालिका सदस्यहरुले पुस्तिकामा हस्ताक्षर गर्न नमाने पछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको ११ औं अधिवेशन प्रभावित बनेको हो ।

हालसम्म पनि चल्न नसकेको नगरसभा सञ्चालनका लागि एमालेसँग नगर प्रमुख मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँ बैठक बसिरहेका छन् । बागमती प्रदेशको एकमात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख रुपैयाँ खर्च व्यहोर्ने गरि बेहोरिने गरी उपमहानगरले बजेटको तयारी गरेको जनाइएको छ ।

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ । कार्यपालिकाको २९ सदस्यमध्ये एमालेको १८, काँग्रेसको उपमेयर सहित ८, नेकपा एकीकृत समाजवादीको मेयर सहित २ र माओवादी केन्द्रका एक सदस्य छन् । त्यस्तै एमालेको नगरसभामा समेत बहुमत छ । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै पहिलो कार्यपालिकाको बैठकमा बैठक सञ्चालनको कार्यविधि संशोधनको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि सहमति नजुटेपछि बैठक बहिष्कार गरेका थिए । एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ ९२० र १५ ९३० मा रहेको व्यवस्थालाई संशोधन गरिनुपर्ने माग राख्दै आएको छ ।

त्यस्तै एमालेले नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै एकलौटी रुपमा मेयर र उपमेयरले नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको समेत आरोप लगाएको छ । एमालेले बहुमत सदस्यलाई व्यवास्ता गरेर कार्यपालिकाबाट नीति तथा कार्यक्रम र बजेट पारित गरेकोप्रति आपत्ति जनाउँदै विरोध गर्दै आएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार