एसपीपी प्रकरणमा छानविन समिति बनाउन रावलको माग

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व रक्षामन्त्री समेत रहेका रावलले परराष्ट्र मन्त्री डा.नारायण खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउनुभयो ।

‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु’, रावलको माग छ । उहाँले प्रधानमन्त्रीको अमेरिका भ्रमणको एजेन्डा के हो परराष्ट्रमन्त्रीले किन खुलाउनुभएन ? भन्दै प्रश्न समेत गर्नुभयो । ‘परराष्ट्रमन्त्रीले अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीको क्याम्प भ्रमणलाई राष्ट्रिय हितको बिषय भएको बताउनुभएको छ त्यो कुरा म यो समितिमा उपलब्ध गराउन सक्छु’, रावलले ‘यस्तो परराष्ट्रमन्त्री भएपछि नेपालको परराष्ट्रनीति कसरी कार्यान्वयन हुनसक्छ ?’ भनेर सरकारलाई प्रश्न गर्नुभयो ।

उहाँले नेपाली सेनाले अमेरिकालाई पत्र लेखेकोबारे प्रष्ट पारेकोमा धन्यवाद दिँदै भन्नुभयो, ‘तर एक दिनअघि पत्र लेखेको छैन भनेर स्पष्टीकरण दिने अनि अर्को दिन पत्र सार्वजनिक भएपछि स्वीकार गर्ने ? यसले सेनाको छविलाई कस्तो असर पार्छ । यसबारे बिचार गर्न आवश्यक छ ।’ नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताउनुभयो । ‘मौन बस्नुको अर्थ के हो ?’, रावलको प्रश्न छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार