कल सेन्टरको आवरणमा ठगी, २ भारतीयसहित १३ पक्राउ

काठमाडौँ । कल सेन्टरको आवरणमा प्रविधिको दुरुपयोग गरी ठगीको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले २ भारतीयसहित १३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगर–४ धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ नामक संस्थाका सञ्चालक बूढानीलकण्ठ–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ, भारत महाराष्ट्र घर भई सामाखुसी बस्ने ३२ वर्षीय निसार खैरे, भारत उत्तरप्रदेश घर भई सामाखुसी बस्ने २४ वर्षीय मनीष तिवारी छन् ।

प्रहरीले संस्थामा कार्यरत काठमाडौं–२९ रानीबारीका २२ वर्षीय आमिन खड्का, २३ वर्षीय आरस तुलाधर, लमजुङ नाल्माका २२ वर्षीय करण गुरुङ, काभ्रे बनेपा घर भई मध्यपुर थिमि राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा, उदयपुर चौदण्डीगढी घर भई कालोपुल बस्ने २० वर्षीया आरुषी राई, नुवाकोट किस्पाङ घर भई बानियाँटार बस्ने २१ वर्षीया युबिना तामाङ, दोलखा भीमेश्वर घर भई डल्लु बिजेश्वरी बस्ने २६ वर्षीया सपना मग्राती, सुर्खेत वीरेन्द्रनगर घर भई मध्यपुर थिमि लोकन्थली बस्ने १९ वर्षीया टीका राउत, झापा भद्रपुर घर भई सिफल बस्ने २४ वर्षीया सुनीता राउत र नुवाकोट तादी घर भई रानीबारी बस्ने १९ वर्षीय सागर श्रेष्ठलाई पक्राउ गरेको हो ।

विजय श्रेष्ठले अर्बिट नेक्सस प्रालि नामक संस्थामा कल सेन्टर सञ्चालन गर्न कर्मचारी राखेर अमेरिकामा बस्नेलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गरेको आरोप छ । माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खातालगायतका निजी सूचना माग गरी रकम ठगी गरेको पाइएको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताउनुभयो । उनीहरूबाट ९० वटा कारोबार भएको देखिएको र ती सबै ठगी हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिनुभयो । नेपालभित्र र बाहिर कति पीडित छन् भन्ने विषयमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । कल सेन्टर सञ्चालकले थोरै ज्यालामा रातभर कर्मचारी खटाएको पाइएको छ । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार