कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम हो : खनाल

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताउनुभएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले गर्न नसक्ने बताउनुभयो । उहाँले छ महिनासम्म एउटा समुह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पार्नुभयो । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले काँग्रेस भित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताउनुभयो ।

उहाँले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताउनुभयो । पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहानामा भर पर्ने उहाँले बताउनुभयो । नेकपा(माओवादी केन्द्र)का सांसद राम कार्कीले नेताहरुले आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउने चलन सुरु भएको टिप्पणी गर्नुभयो ।

सम्बन्धित विषयको ज्ञान भएको मान्छेलाई मन्त्री बनाउने परिपाटी नभएको र मन्त्री बन्न खास योग्यताको जरुरी नपरेको प्रति उहाँले असन्तुष्टि जनाउनुभयो । नेताहरुले राम्रो काम गर्ने मान्छेलाई मन्त्री नबनाएर आफ्नो प्यारो मान्छेलाई मन्त्री बनाउनु अप्रजातान्त्रिक र दुःखद कुरा भएको उहाँको भनाइ छ । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र कुमार यादवले मन्त्रिपरिषद् हेरफेर गर्नु जरुरी नभएको बताउनुभयो । जुन मन्त्रीले बजेट ल्याउँछ सोही मन्त्रीले बजेट कार्यान्वयन गराउन सके राम्रो हुने उहाँले बताउनुभयो ।

आफुहरु मन्त्रिपरिषद् हेरफेरको पक्षमा नरहेको उहाँको भनाइ छ । यता, जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले पार्टीबाट नयाँ नेताहरुलाई मन्त्री बनाउनुपर्ने बताउनुभयो । विगतमा पार्टीभित्र छ महिनामा मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने सहमती गरेको भन्दै सहमती कार्यान्वयन हुनुपर्ने बताउनुभयो । आफुहरुले नयाँ मन्त्री बनाउनका लागि दबाब दिइरहेको उहाँले बताउनुभयो ।

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष तथा सांसद ईश्वर पोखरेलले मन्त्रीपरिषद् हेरफेर गरिनु गठबन्धनले चलाइरहेको धन्दाको एउटा श्रृङ्खला भएको टिप्पणी गर्नुभयो । नेकपा(एमाले)का सांसद झपट रावलले वर्तमान सरकारसँग जनताको कुनै अपेक्षा नभएको भन्दै पालो पु¥याउनकै लागि मन्त्रिपरिषद् हेरफेर हुन लागेको टिप्पणी गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले वर्तमान सरकार रहेपनि, हेरफेर भएपनि जनताले केही नपाउने टिप्पणी गर्नुभयो । सरकार टिकाउनका लागि कसैलाई मन्त्रीबाट हटाएर कसैलाई बनाएपनि देश र जनताले केही उपलब्धी नपाउने उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार