काठमाडौंको फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनुभएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग माग्न मन्त्रालय पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उहाँले फोहोर व्यवस्थापनमा नयाँ प्रविधि अपनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मन्त्री झाँक्रीले बञ्चरे डाँडामा व्यवस्थित तरिकाबाट फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘बञ्चरेडाँडा वा सिसडोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ’ उहाँले भन्नुभयो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मन्त्रालयले काठमाडौंको फोहोर व्यवस्थापनका लागि गरेको प्रतिवद्धता समयमै पूरा गर्न आग्रह गर्नुभयो । ‘हजुरहरुले भन्नुभएको कुरा समयमै हुनुपर्छ । टेण्डरको प्रोसेसदेखि बाटो बनाउने कुरासम्म’ उहाँले भन्नुभयो । भेटमा बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटबाट सिकेको पाठबाट अघि बढेर फोहोर व्यवस्थापन गर्नका लागि योजनाका बारेमा कुराकानी भएको थियो ।

सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् । जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ । यसअघि काठमडौंका नवनिर्वाचित मेयर बालेन साहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गरिसकेका छन् । सिसडोलवासीका समस्या बुझ्न मेयर र उपमेयरसहितको टिम शुक्रबार सिसडोल पुग्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार