काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको होः राई

काठमाडौँ । प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी सत्तारुढ गठबन्धनको भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य राईले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मेवारी प्रधानमन्त्रीको मात्रै नभई सत्तारुढ गठबन्धन पनि भएको बताउनुभएको छ ।

उहाँले फोहोरमैला व्यवस्थापनको काममा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न गठबन्धनका शीर्ष नेताहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले फोहोरको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाका प्रमुखलाई उपप्रमुखको साथ हुने उल्लेख गर्दै महानगरप्रमुखलाई संयमताका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले यो विषय खाली मन्त्रालयको प्रधानमन्त्रीको मात्रै ध्यानाकर्षण गरिरहेको छैन। गठबन्धन सञ्चालन गर्ने नेतृत्वमा रहनुभएका जिम्मेवार व्यक्तिहरुलाई तपाईहरुको पनि यो जिम्मेवारी छ। त्यसकारण यसका बारेमा तपाईहरुले अविलम्ब फोहोरमैलाको कामलाई व्यवस्थापन गर्नका लागि तपाईहरुले जिम्मेवारीपूर्वक भुमिका निर्वाह गर्न सक्नुपर्छ भन्ने कुरालाई म ध्यानाकर्षण गराउन चाहान्छु।’

यस्तै, उहाँले नवनिर्वाचित मेयर बालेन शाहलाई उपमेयर सुनिता डंगोलले महानगरको काममा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले भर्खरै निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु । हिजो विद्यासुन्दर शाक्यलाई असहयोग गरेको उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन । तपाईलाई हामी पूर्ण रुपमा सहयोग गर्न चाहान्छौँ । तर बालेन साहले संयमता अपनाएर अगाडि बढ्न जरुरी छ भन्ने कुरा पनि म राख्न चाहान्छु।’ nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार