काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।

‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मातहतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ । काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ ।

‘महानगरको मातहतमा रहेका पूर्वाधार एम्बुलेन्स हुनसक्ने दुई वटा सवारी साधन उपलब्ध गराउन वातावरण विभागलाई चिठी लेखिसकेका छौं,’ थापाले भन्नुभयो, ‘प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरुलाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ ।’

थापाले सवारी साधन बाहेक पूर्वाधार एम्बुलेन्सको लागि चाहिने सबै निर्माण सामाग्री, कच्चा पदार्थहरु पनि जम्मा भईसकेको जानकारी दिनुभयो । ‘हामीसँग १० लाख रुपैयाँ बराबरको तत्काल चाहिने कच्चा पदार्थ तयार छ । सडक भत्केको ठाउँमा कालोपत्रे बाहेक अन्य सबै काम हुन्छ । सडक पेटी, ढल, ईँट्टा, ब्लकहरु विग्रेको गुनासो आए यो हप्ताबाट तत्काल मर्मत गर्न महानगर तयार छ’, उहाँले भन्नुभयो ।

काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स चलाउने थापाले बताउनुभयो । कलसेन्टरको लागि पनि धमाधम काम भइरहेको उहाँले जनाउनुभयो । आगामी आर्थिक वर्षबाट भने महानगरले बजेटबाट नै पूर्वाधार एम्बुलेन्सको लागि सवारी किन्ने गृहकार्यसमेत गरेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार