किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जा हो : सांसद ढकाल

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताउनुभएको छ । किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ढकालले किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘यतिबेला सामाजिक सञ्जालमा किसानले मल खोस्दै गरेको एउटा भिडियो भाइरल भएको छ । नेपाल कृषिप्रधान देश भनेर नथाक्ने हामी किसानलाई न उन्नत बीउबिजन दिन सक्छौं, न पर्याप्त मलस किसानले ट्रक रोकेर मल खोस्नु पर्ने बाध्यात्मक अवस्थाको त्यो दृश्य राष्ट्रिय लज्जाको विषय हो ।’

किसानलाई समयमा मल उपलब्ध गराउनका लागि उहाँले सभामुखमार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । ‘किसानलाई मलखाद र बीउबिजन उपलब्ध गराउने दायित्व मन्त्रालय को हो । तत्काल किसानलाई सहज र सहुलियत रूपमा मल उपलब्ध गराउन म सभामुखमार्फत सरोकारवाला मन्त्रालय र मन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।

कांग्रेस सांसद पार्वता डीसी चौधरीले पनि किसानलाई सरकारले मल दिन नसकेको तर तस्करहरूले मल ल्याइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘किसानले मल पाइरहेका छैनन् तर तस्करहरूले सेटिङमा मल भित्र्याइरहेका छन् । सिमेन्ट र गहुँ ल्याउने प्रज्ञापनपत्र देखाएर मल तस्करी भइरहेको छ ।’ केही दिन पहिले भारतबाट मल बोकेर काठमाडौं आउँदै गरेका दुई ट्रक किसानले धादिङमा रोकेर खोसेका थिए । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार