गठबन्धन इमानदार देखिएन : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ । गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो । मंगबारबाट सुरु भएको नेकपा एस पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले गठबन्धनमा समस्या रहेको उल्लेख गर्दै समीक्षात्मक प्रतिवेदन पेश गनुभएको छ ।

अध्यक्ष नेपालले १३ पेज लामो चुनावी समीक्षात्मक प्रतिवेदन पेश गर्दै पार्टीभित्र र गठबन्धनभित्रका समस्या रहेको जनाउनुभएको छ । उहाँले तयार पारेको प्रतिवेदमा एस पार्टीका उम्मेदवारहरूले प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ रहेको र त्यमध्ये आधा गठबन्धनको भए पनि पाँच लाख आफ्नै भएको दावी गरिएको छ ।

‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरूको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिव पाँच लाख मत हामीले प्राप्त गरेका छौं,’ प्रतिवेदनमा छ। उहाँले निर्वाचनमा तीनथरी समस्या देखापरेको भन्दै पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या उठाएका छन् । ‘पहिलो, गठबन्धन गर्न नै नचाहने। दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने। तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने। चौथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने । पाँचौं, गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने।

छैठौं, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु। सातौं, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु’, नेपालको प्रतिवेदनमा भनिएको छ। उहाँले माओवादी र कांग्रेस दुवैमा यस खालको प्रवृत्ति देखिएकाले समस्या उत्पन्न भएको बताउनुभएको छ । बैठकमा सातवटै प्रदेशबाट वेग्लै समीक्षा प्रतिवेदन पेश गरिएको छ। बैठक बुधबार पनि बस्ने भएको छ। बुधबार झलनाथ खनालले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने पार्टीका महासचिव वेदुराम भुसालले जनाएका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार