गण्डकी प्रदेश : मिर्गौला प्रत्यारोपण पोखरामै गराउने घोषणा

पोखरा । गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको हो ।

यस्तै, प्रदेशभित्रका मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । पोखरामा ५० शैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकारी दिनुभयो। सरकारले आउँदो वर्षदेखि सुत्केरी विपन्न महिलालाई ४५ दिनसम्म पोषण भत्ता उपलब्ध गराउने जनाएको छ ।

‘सुत्केरी आमा, पोषिलो खाना’ कार्यक्रममार्फत स्थानीय तहसँगको सहकार्यमा ४५ दिनसम्म विपन्न परिवारका सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउने गुरुङले बताउनुभयो । सरकारले आमा र शिशुको स्वास्थ्यका लागि एयर लिफ्टिङ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले दुर्गम ठाउँका सुत्केरी र गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पुर्‍याउँदै आएको छ ।

यस्तै, गण्डकी सरकारले बिरामीलाई आवश्यक पर्ने रगत र रगत जन्य पदार्थ निःशुल्क उपलब्ध गराउने भएको छ । नीति तथा कार्यक्रममार्फत बजेटको व्यवस्था गरेर रगत र रगतजन्य पदार्थको उपलब्धता निःशुल्क गर्न लागिएको हो । हरेक स्थानीय तहमा लागत साझेदारीमा एम्बुलेन्स उपलब्ध गराउने र सबै विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य सचेतना कार्यक्रम सन्चालन गर्ने कार्यक्रम छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार