जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु

ओखलढुंगा । जंगली च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो ।

ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन् । त्यो दिन सासू सीता विष्ट उपचारका लागि काठमाडौं गएकाले घरमा ९३ वर्षीय हजुरआमा मनमाया, २७ वर्षीय श्रीमान् राजन र ढककुमारीले त्यो तरकारी खाए । तीन वर्षीया छोरी करिश्माले भने तरकारी खाइनन् ।

तरकारी खाएलगत्तै उनीहरूलाई बिस्तारै पेट पोलेको महसुस भयो । सानी छोरी करिश्मा पनि त्यही बिरामी भइन् । सामान्य समस्या होला भनेर उनीहरूले घरेलु औषधि उपचार गरे । अप्ठ्यारो बढेको तीन दिनपछि छिमेकीले उनीहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याए । गत मंगलबार मिसन अस्पतालमा उपचारकै क्रममा ढककुमारीको मृत्यु भयो । हजुरआमा मनमाया, श्रीमान् राजन र छोरी करिश्मा विष्टलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर व्यवस्था गरी शिक्षण अस्पताल काठमाडौं पठाइयो ।

मनमायाको सोही दिन शिक्षण अस्पतालमै मृत्यु भयो भने राजनको मृत्यु उपचारका क्रममा गत बिहीबार भयो । करिश्माको स्वास्थ्यमा भने सुधार आएको छ । अस्पतालले डिस्चार्ज गरेपछि करिश्मालाई ढककुमारीको माइतका आफन्तको जिम्मा लगाइएको छ । तर आर्थिक अवस्था नाजुक भएकाले उनीहरू बिचल्लीमा परेका छन् । गाउँमै एकमात्र विष्ट परिवार उनीहरूको थियो । धेरै वर्ष उनीहरू हालको सुनकोसी गाउँपालिकामा पर्ने कटुन्जेबाट फूलबारी बसाइँ गएका थिए । छिमेकीसमेत रहेका वडाध्यक्ष सुरेश थापाले भन्नुभयो, ‘तीन दिनसम्म घटना लुकाएछन्, त्यसैले यस्तो घटना भयो ।’ कस्तो च्याउ विषालु हुन्छ भन्ने थाहा नपाई खाँदा यस्तो घटना भएको उहाँले बताउनुभयो ।

च्याउमा विद्यावारिधि गरेका नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत जयकान्त राउत जंगलका च्याउ किराले खाएको, जंगली जनावरले खाएको भन्ने तर्क गरेर धेरैले प्रयोग गरे पनि त्यो गलत भएको बताउँछन् । नेपालमा पाइने च्याउमा १ सय ५७ प्रकारका खान मिल्ने र सय प्रकारका विषालु हुने जानकारी उहाँले दिनुभयो । मुलुकमा बर्सेनि विषालु च्याउका कारण ५० देखि ७० को मृत्यु हुने गरेको छ । अधिकृत राउतले भन्नुभयो, ‘खाद्य संकटका कारण पनि स्थानीयले झुक्किएर विषालु च्याउ खाएको बुझिन्छ ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार