जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

काठमाडौं । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नुहुनेछ । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी हुनेछन् ।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविश्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रमको संयोजन गरेका अनुसन्धानदाता टीकाराम भण्डारीले यस पटकको राष्ट्रिय सम्मेलन मधेश विशेष रहने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रिय सम्मेलन भए पनि यस वर्ष मधेशमा क्रियाशील स्थानीय अनुसन्धानदाता र विद्यार्थीलाई केन्द्रित गरेका छौं ।’

विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानको क्षेत्रमा क्रियाशीलहरु सम्मेलनमा सहभागी छन् । सम्मेलनमा कृषि, औषधि, विज्ञान, प्रविधि, नवप्रवर्तन सम्बन्धी प्रस्तुति रहने छ । सम्मेलनमा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाहको पनि प्रस्तुती छ । ‘समाजको लागि विज्ञान र समृद्धिको लागि नवप्रवद्र्धन’ शीर्षकमा आफ्नो प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो ।

शुक्रबारको दिन हाईस्कुलका सुनियर र जुनियर विधामा प्रतिस्पर्धात्मक प्रस्तुति रहने भण्डारीले बताउनुभयो । उत्कृष्ट ठहरिने जुनियर समूहले विदेशमा आयोजना हुने एसिया प्यासिफिक वैज्ञानिक सम्मेलनमा सहभागी हुन पाउने छन् । यो सम्मेलन यस पटक रुसमा हुनुपर्ने भए पनि रुस–युक्रेन द्वन्द्वका कारण मिति निश्चित भइसकेको छैन । सम्मेलनको उदघाटन आज बिहान मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्नुहुनेछ । कार्यक्रममा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव, मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मी लगायत सहभागी हुनुहुन्छ । अनलानइखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार