जिसस म्याग्दीको प्रमुखमा थापा मगर निर्वाचित (तस्बिरहरु)

बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित हुनुभएको हो । निर्वाचित थापा मगर र उपप्रमुख खत्रीले सात मत पाउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी जिल्ला समन्वय समिति म्याग्दीमा प्रमुखमा थापा मगर र उपप्रमुख खत्री सहित ७ जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो ।यसैगरी नेपाली काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार मनकुमारी विक र उपप्रमुखका उम्मेदवार सोहन श्रेष्ठले ५ मत प्राप्त गर्नुभयो ।

गठबन्धनले अन्य जिसस सदस्यहरुमा मनोनयन दर्ता नगरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।थापा मगर बेनी नगरपालिका– १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी खत्री मंगला गाउँपालिका– १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो । थापा मगर एमाले म्याग्दीका उपसचिव समेत हुनुहुन्छ । प्रमुखमा निर्वाचित थापा मगरले मतदाता र पार्टीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले जिल्लाको समग्र विकास र सुशासनको लागि आफुले काम गर्ने बताउनुभयो ।

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल (बेनी),श्रीप्रसाद गर्बुजा (धवलागिरि), देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) ,गौमति चपाई (मालिका) ,धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुको सोमबार सपथग्रहणका साथै पदभारग्रहणको कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार रहेको थियो । एमालेको ७ मत, कांग्रेसको ३ र माओवादीको २ मतभार छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार