तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ । गाउँपालिका भित्र हाल त्यस्ता ३० जना बालबालिका रहेका छन् ।गाउँपालिकाले संचालनमा ल्याएको बालगृहको नाम ‘तमानखोला बालगृह ’राखिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालका अनुसार ,गाउँपालिकामा स्थापित तमानखोला विकास कोष स्थापना गरेर गत बर्षदेखि गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर सहित केही जनप्रतिनिधिहरुले पाउने सेवा सुविधा बापतको केही प्रतिशत र केही कर्मचारीहिरुले आफुहरुले पाउने तलबको केही प्रतिशत रकम उक्त कोषमा जम्मा गरेका थिए । उक्त कोषका लागि गाउँपालिकाले सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोषमा जम्मा भएको १७ लाख रुपैयाँबाट गाउँपालिकाको वडा नम्बर ३ स्थित तमानखोलामा एक घर भाडामा लिएर बालगृह सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले कोही पनि बालबालिका राज्य विहीन नहुन भन्ने उद्धेश्यले असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गरेको उल्लेख गरे । उनले बाल अधिकार सुनिश्ति गर्नको लागि पनि आफुहरुले बालगृह सञ्चालनमा ल्याएको बताए । गाउँपालिका अध्यक्ष बुढा मगरले आफ्नो पहिलो कार्यकालमा बालगृह संचालनमा ल्याउने योजना बनाए पनि विविध कारण संचालनमा ल्याउन नसकिएको सुनाए ।

‘खासगरी दुर्गम बस्तीमा विभिन्न कारण अभिभावक विहिन भएका तथा आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको भविष्य निर्माण गर्न सकियोस् भन्ने उद्धेश्यले बालगृह संचालनमा ल्याएका हौं ,’उनले भने , ‘यसले बालअधिकारको सुनिश्चितताको निम्ति सहयोग पुर्याउने छ।’ आफुले पहिलो कार्यकालमा बालगृह संचालनमा ल्याउने घोषणा गरेपछि निवर्तमान उपाध्यक्ष ,वडा अध्यक्ष ,कार्यपालिका र वडा सदस्य सहित गाउँपालिकामा कार्यरत कर्मचारीले समेत सघाएको उनले बताए । बालगृहमा गाउँपालिकाको ६ वटा वडा मध्ये अहिलेसम्म ५ र १ वडा बाहेक सबै वडाका बालबालिका छन् ।उक्त बालगृहमा ५० जना भन्दा माथीको संख्यामा बालबालीका पुग्ने अनुमान गरिएको छ ।

’समाजमा बेवास्ता गरेकै कारण अनाथ ,गरिब ,विपन्ना परिवारका बालबालिका कुलतमा हुन्छन् । ति कलिला बालबालिकाको दयनीय अवस्थालाई चिर्नका निम्ति पनि मैले बालगृह संचालनमा ल्याउने योजना बनाएँ ,’ उनले थपे । उनले कलिला बालबालिकाको दयनीय अवस्थालाई चिर्नका निम्ति गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको उल्लेख गरे । बालगृहमा रहेका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क पठनपाठनको समेत व्यवस्था गरिनेछ ।बालगृहमा रहने बालबालिकालाई कुनै पनि कुराको अभाव नहुने गरि प्रबन्ध मिलाईने बुढाको भनाई छ । बालगृह सञ्चालनमा ल्याईएसँगै उनीहरु भविष्यमा दक्ष जनशक्ति हुने बताउँदै त्यसबाट पालिकालाईनै फाईदा हुने उनले बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार