द्वन्द्वपीडित अधिकार मञ्चको दोस्रो साधारणसभा

नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइज्ञापन,द्वन्द्वपीडितलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी

म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (आइतबार) स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को सन्दर्भ पारेर द्वन्द्वपीडित अधिकार मञ्च बेनी, म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिका र एड्भोकेसी फोरमको सहयोग, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको समन्वयमा जनप्रतिनिधि, सरोकारवाला र द्वन्द्वपीडितहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको थियो । स्मृति कार्यशाला गोष्ठीमा प्रशिक्षक रमेश अधिकारीले १० वर्षे सशस्त्र द्वन्द्वले पारेको प्रभावलाई स्मृतिमा कसरी उतार्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले दशवर्षे द्वन्द्वले पारेको प्रभाव र त्यतिबेला भएका घटनाप्रति अब प्रतिशोधको भावना नराखी स्मृतिको रुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले १० वर्षको अवधिमा नेपालमा भएका लँडाइहरुमध्ये म्याग्दी आक्रमण पनि निकै ठूलो भएको बताउँदै नगरपालिकामार्फत तत्कालीन आक्रमणलाई सम्झने खालको संरचना बनाइने बताउनुभयो । उहाँले म्याग्दी आक्रमणमा परी मृत्युवरण गरेका शहिदहरुको सम्मानमा युद्ध सङ्ग्रहालय बनाई जिल्लामा पर्यटन प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आफू पनि दशवर्षे सशस्त्र द्वन्द्वबाट पीडित व्यक्ति भएकाले अब नगरपालिकाबाट द्वन्द्वपीडितको घाउमा मल्हम लगाउन आवश्यक पहल थालिने बताउनुभयो । उहाँले दशवर्षे द्वन्द्वले देशमा गणतन्त्र, सङ्घीयता ल्याएको र कतिपय अधिकारहरु संविधानमा लेखिएकाले अब कार्यान्वयन गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले छुट भएका द्वन्द्वपीडितहरुको नाम समावेश गर्न स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउँदै द्वन्द्वपीडितलाई जुनसुकै समयमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीका उपसभापति अमर बानियाँ र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल जिल्ला अध्यक्ष देवी केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य र द्वन्द्वपीडितहरुको परिवारका सदस्यहरु सहभागी कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्चका जिल्ला अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता, सचिव सुरेन्द्र खत्रीको सञ्चालन र सहसचिव मिना कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच स्मृति कार्यशाला गोष्ठीको अवसरमा आयोजित द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले पुनः भीमबहादुर रिजालको अध्यक्षतामा नयाँ समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना कार्की, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा देवीकुमारी केसी, सहसचिवमा डोलकुमारी बानियाँ, सदस्यहरुमा योगेन्द्र बानियाँ, जमुना खत्री, ठकबहादुर पूर्जा र देउमाया बुढाथोकी रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार