नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप खरिद गरी वितरण गरिएको हो ।

ल्यापटप पाउनेमा बेनी नगरपालिका–२, ज्यामरुककोटको सरस्वती आधारभूत विद्यालय बगरफाँट र हंशबाहिनी आधारभूत विद्यालय खबरा, बेनपा–३, भकिम्लीको मुसुङडोले आधारभूत विद्यालय, बेनपा–४ सिङ्गाको बालमन्दिर आधारभूत विद्यालय डाँडाखेत, बेनपा–५, पुलाचौरको बालजागृति आधारभूत विद्यालय बगुवाखोला र ज्योती आधारभूत विद्यालय डडुवा तथा बेनपा–१० पात्लेखेतको विद्योदय आधारभूत विद्यालय वाखेत रहेका छन् ।

प्रति विद्यालयलाई जनही ७१ हजार रुपैयाँ बराबरको डेल कम्पनीको ब्राण्डेट ल्यापटप अनुदानस्वरुप उपलब्ध गराइएको बेनी नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई नगर प्रमुख सुरत केसीले उक्त ल्यापटप हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, शिक्षा अधिकृत कमलप्रसाद ढकाल, स्रोतव्यक्ति मोहन बानियाँको उपस्थितिमा सम्पन्न ल्यापटप वितरण कार्यक्रमको सञ्चालन स्रोतव्यक्ति जयराम सुवेदीले गर्नुभएको थियो ।


चालु वर्षमा बेनी नगरका ७ वटा विद्यालयहरुलाई ल्यापटप वितरण गरिएको छ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण सिकाई सहजीकरण गर्नका लागि विद्यालयमा इन्टरनेट क्षमता विस्तार, आइसिटी उपकरण खरिद तथा मर्मतसम्भार गर्न र थप अनुदान उपलब्ध गराउन सकिने निर्देशनअनुसार ल्यापटप वितरण गरिएको बेनी नगरपालिकाका स्रोतव्यक्ति जयराम सुवेदीले बताउनुभयो ।

 

इन्टरनेट सुविधा भएका तर उपकरणको अभावमा अनलाइनको माध्यमबाट शिक्षण गर्न तथा शिक्षण सिकाइमा आइसिटीको प्रयोग गर्न असमर्थ भएका, यसअघि आइसिटीसम्बन्धी कार्यक्रम नपरेका विद्यालयहरुमध्ये विद्यार्थीको सङ्ख्या, आइसिटी तालिम प्राप्त र जनशक्ति उपलब्ध विद्यालयलाई ल्यापटप सहयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार