निजगढ विमानस्थल सार्न मिल्दैन : मुख्यमन्त्री राउत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताउनुभएको छ । निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कारमा बिहीबार निजगढै पुगेर मुख्यमन्त्री राउतले मधेस प्रदेशको विकासका लागि लाइफलाइन रहेको निजगढ विमानस्थल सार्ने खेल स्वीकार्य नहुने बताउनुभयो।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ अझै आइनसकेकाले नआतिन निजगढवासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्णपाठमा निजगढ विमानस्थलका लागि सकारात्मक सन्देश आउने आस गर्न सल्लाह दिनुभयो । ‘निजगढ विमानस्थल बन्नुपर्नेमा हामी दृढ छौं । तर विमानस्थलनको नाममा अनावश्यक रुख कटानी गर्न दिँदैनौं,’ उहाँले भन्नुभयो,‘विश्वको सबैभन्दा ठूलो विमानस्थल होइन, नेपालका लागि सुहाउँदो विमानस्थल बनाउन प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार छ ।’

निजगढमा जंगल मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइने भएपछि राउत सरकारले नै सर्वोच्च अदालतमा रिटसमेत हालेको थियो । तर, निजगढमै विमानस्थल बन्नुपर्ने अडानमा फेरि मुख्यमन्त्री राउत देखिनुभएको छ । विमानस्थलको नाममा जंगल नै सिद्ध्याउने चलखेल हुँदै आएको भन्दै राउतले निजगढवासीलाई सचेत गराउनुभयो । ‘निजगढ विमानस्थल निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा सुरु गराउनका लागि दबाब दिनुस्,’ उहाँले भन्नुभयो ।

निजगढवासीले केही दिनयता जारी राखेको चक्काजामसहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भन्नुभयो,‘सर्वोच्चको फैसलाको पूर्णपाठ नआउञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्नुस् । पूर्णपाठ हाम्रै पक्षमा आउँछ भनेमा विश्वस्त छु । विपक्षमा आए फेरि आन्दोलन गरौंला ।’मुख्यमन्त्री राउतले रिले अनशनमा बसेकालाई भेटेपछि सरोकार समिति चक्काजाम कार्यक्रम स्थगित गर्नुभएको छ भने रिले अनशनलाई निरन्तरता नै दिने जनाएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार