नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम आएन : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम नआएको बताउनुभएको छ । उहाँले सरकारी तहबाट नै निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्नेगरी नीति ल्याइएको बताउनुभयो।

शिक्षालाई समयानुकूल वैज्ञानिक बनाउने योजना सरकारसँग नरहेको उहाँले उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई बेवास्ता गरिएको उल्लेख गर्दै उहाँले यसो गरेमा शिक्षा क्षेत्र तहसनहस हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वविद्यालयलाई अनुसन्धानमूलक बनाउने ठोस कार्यक्रम ल्याउन सकेको छैन।

निजीकरण, व्यापारीकरण र माफीयाकरण रोक्ने कुनै ठोस योजना छैन । सरकारी तहबाट नै निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गर्ने गरी आएको नीतिले गर्दाखेरी संविधानमा व्यवस्था भएबमोजिम पनि माध्यमिक शिक्षालाई निस्शुल्क गर्ने भन्ने कुराहरूलाई पनि कार्यान्वयन भएको छैन । पुरानै परम्परावादी किसिमले नै अगाडि बढिरहेको छ। शिक्षालाई वैज्ञानिक बनाउने योजना, ठोस कार्यक्रम अहिले पनि आउन सकेको छैन।’

शिक्षाको विकासको हिसाबले लापरबाही तरिका देखिएको भन्दै शिक्षा पूर्ण रूपमा निस्शुल्क गरेरै जानुपर्ने बताउनुभयो। ‘त्यस्तो ठोस कार्यक्रम ल्याउनैपर्छ। कृषि तथा प्राविधिक शिक्षालाई जोडेर लानुपर्ने योजना हुनुपर्ने त्यो पनि आएको छैन। वैज्ञानिक, व्यवहारिक र रोजगारमूलक शिक्षाको ठोस कार्यक्रम आउन सकेन। शिक्षा क्षेत्रलाई हेलचेक्र्याइँ गर्नु, बेवास्ता गर्नु यसले नेपालको शिक्षा तहस नहस हुने सम्भावना देखिन्छ,’ उहाँले भन्नुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार