नेपाल अमेरिकी सैनिक कार्यक्रममा जोडिन खोजेको हो ? : पोखरेल

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गर्नुभएको छ ।

नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उहाँको भनाइ छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सांसद पोखरेलले नेपाल र अमेरिकाबीच हुन लागेको सैन्य भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमणमा आउँदैछन् । ए फ्लिन भारतीय सेनाका अधिकारीहरुसँग छलफलपछि नेपाल आउन लागेको भन्दै उहाँले आशंका व्यक्त गर्नुभयो ।केही समयपछि इन्डो प्यासिफिकका प्रमुख जोन लिनोले पनि नेपाल भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

त्यसपछि नेपाली सेनाका सेनापतिले अमेरिका भ्रमण गर्ने र लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी भ्रमण गर्ने तय भएको सूचना आएको उल्लेख गर्दै सांसद पोखरेलले भ्रमणहरुको उद्देश्य र एजेण्डाबारे जानकारी माग्नुभएको हो । ‘अमेरिकी सेनाहरुको नेपाल भ्रमण र नेपाली सेनाहरुको अमेरिकी भ्रमणको उद्देश्य र एजेण्डाबारे सरकारले सदनलाई जानकारी गराउनुपर्दैन रु अविलम्ब सदनलाई जानकारी गराइयोस् भन्ने माग गर्छु’ उहाँले भन्नुभयो ।

आफूले अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको सुनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यो स्टेट पार्टनरसिप प्रोग्राम भनेको के हो ? यसबारे सरकारको धारणा के छ ? स्टेट पार्टनरसिप प्रोग्रामको नाममा सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजिएको हो ? ’स्टेट पार्टनरसिप प्रोग्रामको माध्यमबाट विस्तारै अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीमा नेपाललाई सामेल गराउने विज्ञहरुले उठाइराखेको भन्दै उहाँले यसबारे सदनलाई स्पष्ट पार्न सरकारलाई आग्रह गर्नुभयो।  onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार