पेट्रोलियम पदार्थमा १० रुपैयाँ कटौती अपर्याप्त, मूल्यवृद्धिमा भ्रष्टाचारको गन्ध : एमाले

काठमाडौं । मूल्य वृद्धि नियन्त्रणको माग गर्दै नेकपा एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्वमाथिको प्रस्तावमा छलफल जारी छ । छलफलमा भाग लिंदै नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा घटाएको १० रुपैयाँ अपुग भएको भन्दै समग्र मूल्यवृद्धि फिर्ता हुनुपर्ने बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णयमा भ्रष्टाचारको गन्ध आएको भन्दै त्यसको छानविन गर्नुपर्ने मागसमेत गर्नुभयो । सरकार आफैंले बनाएको कार्यविधि विपरीत हप्तामा दुई पटक जेठ १ गते र ९ गते मूल्यवृद्धि गरिएको भन्दै त्यो अवैधानिक भएको उहाँले बताउनुभयो । मूल्यवृद्धिको निर्णय हुन लागेको सूचना चुहाएर सरकार निकट व्यक्तिहरुकोमा याँस र पेट्रोलियम पदार्थ पुर्याइएको उहाँले दाबी गर्नुभयो ।

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय गरिरहँदा सरकार वरिपरि रहेका, बालुवाटार वरिपरि रहेका, मन्त्री निवास वरिपरि रहेका मान्छेहरुमा सूचना अगाडि पुग्यो, त्यसकारणले डिपो रित्याएर ग्याँस सिलिण्डरहरु बजारमा आफ्ना मान्छेहरुकहाँ पुर्याइयो, पेट्रोल पम्पहरुमा पुर्याइयो र त्यसको एक मिनेटपछि मूल्यवृद्धि गरियो,’ उहाँले भन्नुभयो ।

अर्थतन्त्रका प्रमुख परिसूचकहरुप्रति सरकारले एथेष्ट ध्यान पुर्याउन नसक्दा जनताको जनजीविकासँग जोडिएको खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएको भन्दै त्यसलाई नियन्त्रणको माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावमा यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार