प्रचण्डको चेतावनीलाई लक्षित गर्दै कांग्रेस प्रवक्ताले भने : ‘हामी अहंकारको बाटोमा छैनौं’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताउनुभएको छ । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उहाँले बताउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताउनुभएको हो ।

केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिनुभएको थियो । प्रचण्डको सोही कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने उहाँले बताउनुभयो । ‘उहाँ (प्रचण्ड)ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’

कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने उहाँले बताउनुभयो । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उहाँले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको बताउनुभयो। जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उनले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार