प्रधानसेनापतिलाई समितिमा बोलाएर कारबाही गरेजस्तो भयो : कोइराला

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई एसपीपीबारे छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बोलाएकोप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे छलफल गर्न शुक्रबार प्रधानसेनापति शर्मालाई बोलाएको थियो । समितिले बिहान ९ बजेदेखि प्रधानसेनापतिलगायतसँग छलफल गरिरहेको छ । समिति सदस्य कोइरालाले प्रधानसेनापतिलाई बोलाएकोबारे आपत्ति जनाउनुभयो । ‘देशको प्रधानसेनापतिलाई यसरी समितिमा बोलाएर राख्दा कारबाही गरेजस्तो भयो । अरु मुलुकले के भन्लान् ?,’ उहाँको भनाइ थियो ।

समितिमा धेरै राष्ट्रवाद देखिएकाले देश विकास नहुने पनि कोइरालाको भनाइ थियो । काम गर्नुपर्ने बेला राष्ट्रवादका विषयमा घण्टौं छलफल र गफमात्र भएको भन्दै उहाँले समिति सभापति पवित्रा निरौला खरेलसँग असन्तुष्टि पोख्नुभयो । एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले स्पष्ट पार्दा पनि समिति बैठक बोलाएकोमा कोइरालाको आपत्ति थियो । उहाँले निश्चित देशहरूप्रतिको पूर्वाग्रहले यी विषय आएको आरोप लगाउनुभयो ।

‘हाम्रो सेना चीन पनि गएको हुन्छ, केही कुरा हुँदैन । भारत र अमेरिकाको कुरा आउँदा किन अफगानिस्तान बन्छ भनिन्छ ? किन आशंका गरिन्छ ?,’ उहाँले प्रश्न गर्नुभयो । समिति सभापति खरेलले भने विवाद सार्वजनिक भएपनि विषय स्पष्ट पार्नका लागि प्रधानसेनापति बोलाइएको भन्दै कोइरालालाई जवाफ दिनुभयो । ‘एसपीपीको विषय सडक र संसद्‌मा उठिसकेपछि प्रधानसेनापतिलाई बोलाइएको हो, सजाय दिनका लागि होइन ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार