बजेटको सीमाले विरासतमा प्राप्त सबै समस्या समाधान गर्न सहज छैन : बस्नेत

काठमाडौँ । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले अघिल्लो सरकारले आर्थिक क्षेत्रमा छोडेर गएका समस्या समाधान गर्नका लागि आगामी आर्थिक वर्षको एक बजेटले मात्रै नसक्ने बताउनुभएको छ । उहाँले स्पष्ट दृष्टिकोण लिएर सरकार अगाडि बढ्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले अघिल्लो सरकारले तीन वर्षभन्दा बढी अवधिमा अर्थतन्त्रमा समस्या निम्त्याएको बताउनुभयो । ‘विरासतमा पाएका धेरै समस्या छन् । हामी अब स्पष्ट दृष्टिकोणका साथ जानुपर्छ । आजको हाम्रो सीमा, आजको हाम्रो आवश्यकताले एकै वर्षभित्र विरासतमा प्राप्त सबै समस्या समाधान गर्न सहज छैन,’ उहाँले भन्नुभयो ।

अर्थतन्त्रको अवस्था अहिलेको रूपमा ल्याउन यसअघिको सरकार कति जिम्मेवार र अहिलेको सरकारका कति जिम्मेवार भन्ने बहस गर्न आवश्यक नभएको बस्नेतको भनाइ थियो । ‘अर्थतन्त्रको अवस्था अहिलेको जस्तो बनाउन ३ वर्षभन्दा बढी अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको दल कति जिम्मेवार हुनुपर्ने हो भन्नेतिर नजाउँ,’ उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुभएको छ । बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीको नियत के हो भनेर जाने हो भने ठिक ठाउँमा पुग्दैनौं । परिणाम के हुन्छ भन्नेमा जानुपर्छ ।’

आगामी आर्थिक वर्षको बजेटले सबै क्षेत्र, वर्ग र समुदायमा उत्साह थप्ने गरी सन्तुलन कायम गरेको बस्नेतको भनाइ थियो । बजेटले कृषि क्षेत्रको सुधारलाई अर्थतन्त्रको सुधारको आधार बनाउने प्रयास गरेको भन्दै उहाँले कृषि क्षेत्र सुधारको एकीकृत प्याकेज बजेटमा प्रस्तुत भएको बताउनुभयो । बजेटमा आएका यी योजनाले कृषिको सुधार र औद्योगिकीकरणमा महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास आफूले लिएको उहाँको भनाइ थियो ।

अर्थमन्त्रीलाई बस्नेतको सुझाव थियो, ‘हाम्रो आर्थिक नीतिले जनतालाई सामाजिक सुरक्षाका हकदार बनाउने मात्रै होइन उनीहरूलाई आर्थिक विकासको प्रक्रिया र संरचनामा सहभागी गराउँदै प्रतिफलको हिस्सेदार बनाउनेतर्फ ध्यान दिनुपर्छ । यसको लागि सार्वजनिक निजी साझेदारी, सहकार्यतर्फ ध्यान दिन आवश्यक छ ।’ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार