बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक छ : पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री संसदीय समितिको बैठकमा उपस्थित नहुनु खेदजनक रहेको बताउनुभएको छ ।अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा नआएपछि रूष्ट भएका नेता पोखरेलले आउँछु भनेर बचन दिइसकेको प्रधानमन्त्रीले यसरी बैठकमा उपस्थित नहुनू खदजनक रहेको प्रतिक्रिया दिनुभयो ।

‘प्रधानमन्त्रीले आउने वचन दिएको भनेर म खुसी भए तर उहाँ नआउनु विषयवस्तुको आधारमा खेदजनक छ’, उहाँले भन्नुभयो,‘अन्य मन्त्रीलाई पठाएको भए पनि हुन्थ्यो तर एकाएक नआउनु गलत हो, यो एटिच्यूट ठीक भएन।’उहाँले कसैको हार जितको कुरा नगरी सत्यतथ्य हेर्नुपर्ने जिकिर गर्नुभयो। ‘हामी कसैको जीत हारको कुरा नगरौं, हामी तारिकमा अलमलिने होइन। सत्यतथ्य हेर्नुपर्छ’, उहाँले भन्नुभयो ।

पूर्व रक्षामन्त्रीसमेत रहेका पोखरेलले फेरि पनि बैठकमा प्रधानमन्त्रीलाई बोलाउनुपर्ने बताउनुभयो।’फेरि पनि प्रधानमन्त्रीलाई आमन्त्रण गर्नुपर्छ। हामिले त प्रधानमन्त्री र प्रधानमन्त्री जाने भन्ने मात्र सुनेका हौ। हामी विखलबन्धमा पर्‍यौ’, उहाँले भन्नुभयो। यसअघि पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका एमाले सांसद भीम रावलले प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु भनेको संसदीय गरिमाको अवमूल्यन भएको प्रतिक्रिया दिनुभएको थियो।

‘बिरामी, विदेश भ्रमण वा अन्य जरूरी कुरा नभई प्रधानमन्त्री समिति बैठकमा अनुपस्थित हुनु संसदीय गरिमाको अवमूल्यन हो,’ उहाँले समितिको बैठकमा आज भन्नुभयो, ‘संविधान र संसद्को रक्षा गर्न भन्दै प्रधानमन्त्री बनेपछि संसदप्रति उत्तरदायी हुनु पहिलो कर्तव्य हो । यसमा खेद प्रस्ताव पारित गर्नुपर्छ।’यस्तै नेकपा एमालेका अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले संसदीय समितिको बैठक बहिष्कार गर्न नमिल्ने जिकिर गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएपछि आइतबार ज्ञवालीले बैठकलाई इग्नोर गर्न नमिल्ने बताउनुभएकेो हो ।‘उहाँको समय अनुसार बैठक राख्न मिल्छ। तर इग्नोर गर्न मिल्दैन’, उहाँले भन्नुभयो,‘ भ्रमण तय भएको छैन भने पनि उहाँले भन्नुपर्छ। सायद उहाँले भ्रमण तय भएपछि भन्नुहोला तर एसपिपीबारे त भन्नुपर्थ्यो।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार