भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ : महर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताउनुभयो ।

‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ,’ उहाँले भन्नुभयो, ‘युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सल्बलाउन थालेका छन्। राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।’ राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन चाँडोभन्दा चाँडो भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने महरको भनाइ छ ।

उहाँले पदाधिकारीसहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो । सबै भ्रातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताउनुभयो । जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबिनै पनि पार्टी प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।जिम्मेवारीविहीनले के माग गर्ने रु कसलाई काम लगाउने रु अहिले धेरै युवा रनभुल्लमा छन्। अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भन्नुभयो।

यसले पार्टीलाई सशक्त र पुनर्जागृत बनाउन सञ्जीवनी बुटीको काम गर्ने उहाँले बताउनुभयो । उहाँले गाउँगाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताउनुभयो । ‘नेविसंघ कांग्रेसको मुटु हो। युवासंघ तरुणहरूको ऊर्जा हो। सांस्कृतिक संघ कलाकर्मीहरूको संगठन हो। यस्तै अन्य थुप्रै संगठनले पूर्णता पाउन सकेका छैनन्। ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,’ महरले भन्नुभयो । उहाँले तुरुन्त भातृ संगठनलाई पूर्णता नदिए पार्टीप्रतिको युवा आकर्षण घट्नेप्रति नेतृत्व गम्भीर हुनुपर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार