मधेश प्रदेश : झण्डै ४२ अर्बको बजेट ल्याउँदै

काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ । मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि करिब ४२ अर्ब रुपैयाँको बजेट प्रदेशसभामा पेस गर्ने भएको छ ।

चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षभन्दा ९ अर्ब बढी ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउन लागेको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले जानकारी दिनुभएको छ । प्रदेश सरकारले सबैभन्दा बढी यसपटक पनि भौतिक पूर्वाधार निर्माणमा बजेट छुट्याएको छ । अघिल्लो पटक प्रदेश सरकारले सुरु गरेका आयोजनाको कार्यलाई निरन्तरता दिएका छन् ।

यसअघि नै सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेस गरिसकेको छ ।कृषि क्षेत्रको बढ्दो व्यापार घाटालाई लक्षित गरी कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बीउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरूसँग जोड्न नमुना कार्यक्रमको सुरुवात गर्ने उल्लेख छ ।

यस बजेटमा अति विपन्न समुदायलाई जीवन निर्वाह खर्च स्वरूप प्रतिमहिना एक हजार रुपैयाँ दिने योजना समावेश गरिएको छ । यसका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने र स्रोतको सुनिश्चितता समेत गरिएको छ । त्यसैगरी प्रत्येक वडामा टोल क्लिनिक र गाउँपालिकाका सामुदायिक विद्यालयमा एउटा शिक्षकको व्यवस्थालगायत योजना बजेटमा समावेश गरिएको जनाइएको छ ।

प्रत्येक जिल्लामा नमूना माध्यमिक विद्यालय निर्माण गर्नुका साथै दलित वर्गका विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न उनीहरुको अभिभावकको खातामा केही रकम पठाउने योजना समेत समावेश गरिएको छ ।प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा एकजना एमबिबिएस डाक्टर राखेर वृद्धवृद्धाका लागि घरदैलो सेवा सञ्चालन गर्ने योजना पनि बजेटमा समावेश गरेको छ ।यसअघि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७८र०७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार