योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले उच्च चेतनायुक्त भएर जिउने कला भएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय मूल समारोह समिति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले मन र मष्तिस्कको सन्तुलन नै योग भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आम नागरिक निरोगी बन्न तथा मन र मष्तिस्कको सन्तुलन कायम गर्न योग गर्न आवश्यक छ, मानव जीवनमा योगको अत्ति नै आवश्यक रहेको छ ।’

मन्त्री आलेले सन्तुलित, शारीरिक र मानसिक रुपले संयमतापूर्वक निर्वाह गरिने मानव सम्बन्धहरुको सन्तुलन नै योगको सार भएको बताउनुभयो । सजगता, संयमता र लगनशीलता जस्ता महत्वपूर्ण मूल्यहरुमार्फत सकारात्मक सोचको विकास गर्न योगले निकै मदत गर्नेसमेत उहाँले जानकारी गराउनुभयो । मानसिक र आध्यात्मिक शान्ति र सन्तुलन मात्र नभई योगले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने उहाँले बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘हामीले हाम्रो मन्त्रालय र मातहतका निकायबाट योगलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम पनि ल्याएका छौँ, योग गर्नुपर्ने बानीको विकास गर्ने छौँ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार