यो सालभित्रै वीरगन्जको चिनी मिल सञ्चालन भए एउटा घर सरकारको नाममा पास गरिदिन्छु : सांसद श्रीवास्तव

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद विमल प्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रीवास्तवले बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभयो ।

उहाँले घरको अलावा सो घर बेच्दा आउने रकम सहयोग गर्ने उल्लेख गर्नुभयो।उहाँले भन्नुभयो, ‘यसपालिको बजेटमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने भन्ने उद्घोष सुन्यौं यहाँ। त्यो स्वागतयोग्य छ। त्यसको लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन चाहन्छु। साथसाथै उहाँलाई एउटा निवेदन पनि म गर्न चाहन्छु, यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैन।

तर यो दुइटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि त्यो फण्डमा म आफ्नो व्यक्तिगत रूपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु।’उहाँले आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार