रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्नुभएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ । काठमाडौंमा एक कार्यक्रम गरे‍र उहाँले पार्टीको नाम सार्वजनिक गर्नुभएको हो । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राख्नुभएको छ ।

उहाँले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गर्नुभयो । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उहाँले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उहाँले सुनाउनुभयो ।

उहाँले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र स‌ंसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताउनुभयो । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उहाँको अवधारणा छ ।

यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उहाँले बताउनुभयो । उहाँले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताउनुभयो ।

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गर्नुभयो । पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्य मात्र हुने उहाँले बताउनुभयो । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उहाँले बताउनुभयो । लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताउनुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार