राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह गरेको हो ।

सरकारको आग्रह अनुसार दिउँसो ३ बजेदेखि ३ घन्टाका लागि मानिसहरूले अनावश्यक वत्ती निभाउनु पर्ने छ । तर उनीहरुले गर्मीबाट बच्नका लागि एयर कन्डिसनको उचित प्रयोग गर्न भने पाउने छन् । टोकियोको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानीको उत्तरपश्चिममा रहेको इसेसाकी सहरमा ४०.२ डिग्री सेल्सियसको रेकर्ड देखिएको छ । यो जुनमा जापानको अहिलेसम्मकै उच्च तापक्रम थियो ।

यद्यपि विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका पनि मन्त्रालयले जनाएको छ । जापानको उत्तरपूर्वी क्षेत्रमा मार्चमा गएको भूकम्पले केही आणविक उर्जा केन्द्रहरु सञ्चालनमा रोक लगाएपछि जापानको बिजुली आपूर्तिमा कमी आएको छ । जापानले कार्बन डाइअक्साइड उत्सर्जन घटाउने प्रयासमा धेरै पुरानो इन्धन प्लान्टहरू पनि बन्द गरेको छ । जसले गर्दा विद्युत आपूर्तिमा समस्या आउन सक्ने जापान सरकारको भनाइ छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार