रातारात करका दर हेरफेरबारे एमालेद्वारा अर्थमन्त्रीको स्पष्टीकरण माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको हो ।

सांसद भट्टराईले भन्नुभयो, ‘विगतका बैठकहरूमा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा राजस्वका दर, भन्सार र करमा भएका कतिपय प्रावधानमा टिप्पणी गर्दै आएका छौं । आजका सञ्चार माध्यमहरूले उक्त विषयलाई गम्भीरताका साथ उठाएको छ । यसको म सभामुखमार्फत त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ सांसदहरूले विद्युतीय सवारी साधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो लगायतका विषय उठाएकोस स्वास्थ्य बिमा किन प्राइभेट कम्पनीलाई दिइँदैछस जुत्ता र स्यानिटरी प्याडमा कर किन लगाइयो भनेर प्रश्न उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो ।

‘कुनै अमूक व्यक्तिलाई अर्थमन्त्रीले अर्थमन्त्रालयमा बोलाउनुभयो । कार्यकक्षमा भएका अर्थमन्त्रालयका सचिव, राजस्वका सचिव, बजेट शाखा प्रमुखलगायतलाई उहाँले ती व्यक्तिको भनाइ नै आफ्नो भएको भन्नुभयो । मध्यरातमा अर्कै व्यक्तिको माध्यमबाट कर, भन्सार र राजस्वका दरमाथि तलमाथि गर्न खोजेर के गर्न खोजिएको हो,’उहाँले सोध्नुभयो, ‘पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाएका हुन्छौं । बजेट निर्माणको एक प्रक्रिया छ ।

बजेट निर्माणको १ महिना अगाडिदेखि बजेट शाखामा र अर्थ मन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइँदैन तर यो राष्ट्रका नाममा खाएको शपथको खिलाफ हो । यो राष्ट्रघात पनि हो ।’त्यसरी बजेटमा गरिएको हेरफेरले स्वदेशी उद्योग धराशायी भएको उहाँको भनाइ थियो ।सञ्चारमाध्यममा आएका ती विषयमा अर्थमन्त्री शर्माले जवाफ दिनुपर्ने भट्टराईको माग थियो । ‘अर्थमन्त्रीले यसको स्पष्टीकरण दिनुपर्छ भन्ने माग गर्दछु । यसमा प्रधानमन्त्रीको र सत्तारुढ दलका भनाइ के छ ?,’उहाँले संसद्को पनि ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार