राहुल गान्धीमाथि चौथोपटक सोधपुछ हुँदै

एजेन्सी । नयाँ दिल्ली–सम्पत्ति शुद्धीकरण मुद्दामा काँग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय (ईडी) समक्ष उपस्थित हुने तय भएको छ । नेशनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी मुख्यालयमा जाने तय भएको हो ।

राहुललाई गतसाता तीनपटक सोधपुछ गरिएको थियो । उनलाई चौथो पटक शुक्रबार ईडी बोलाइएको थियो । तर, कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएकी आमा तथा कंग्रेस प्रमुख सोनिया गान्धीलाई भेट्न अस्पताल जानुपर्ने भएपछि राहुलको अनुरोधमा आज सोमबारका लागि पुनः सोधपुछको मिति तय भएको थियो ।

राहुलमाथिको सोधपुछलाई लिएर कंग्रेस नेता तथा कार्यकर्ताहरूले चर्को विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् । यसैबीच, आफ्ना नेता विरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार