लिग टू : नेपाल ओमानसँग १३ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । अमेरिकाको पर्ल्याण्डस्थित मोसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल २ बल अघि नै १९८ रनमा अलआउट भयो ।

करण केसीको ५ विकेट र आसिफ शेखको अर्धशतकका बावजुत पनि नेपालले खेल जित्न सकेन । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६६ रन बनाए । यस्तै देब खनालले ३४, उपकप्तान रोहित पौडेलले २०, दीपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र यसै खेलबाट ओडीआईमा डेब्यु गरेका सुनिल धमलाले १२ रन जोडे । करण केसी ८, सुबास खकुरेल ३ र कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।

ओमानका लागि कप्तान जिनस मक्सुद र खाँवर अलीले ३-३ तथा बिलाल खानले २ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले कप्तान जिसन मक्सुदको शतकमा पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २११ रन बनाएको थियो ।८६ रनमा ५ विकेट गुमाएरपछि मक्सुदले एक छेउबाट इनिङ्स सम्हाल्दै अन्तिमसम्म क्रिजमा टिकेर अविजित १०४ रन बनाए ।

१२६ बल खेलेका उनले १२ चौका प्रहार गरे । यस्तै खाँवर अलीले ३० र आयन खानले २७ रन जोडे । नेपालका लागि बलिङमा करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । कप्तान सन्दीपले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले शनिवार घरेलु टोली अमेरिकासँग खेल्नेछ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार