विपत‍्मा उद्धारको अभ्यास महत्त्वपूर्ण : मन्त्री कार्की

विराटनगर । वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ ।

शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यमा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कार्कीले उद्धारका क्रममा पीडितहरुलाई तत्काल राहत कसरी दिने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा नेपाली सेनाले गरेको पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण र उपलब्धिमूलक हुने बताउनुभयो ।

पूर्व अभ्यासका क्रममा अभ्यासमा खटिएका सुरक्षाकर्मीको टिमले विपत् भएकै अवस्थाको अभ्यास गरेका थिए । मन्त्री कार्कीले आफूले देखेको, सुनेको तथा पढेको भन्दा पनि आफैले महसुस गरेको सिकाई महत्त्वपूर्ण सिकाई हुने भएकाले पनि पूर्व अभ्यासको कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । मन्त्री कार्कीले विपत् प्रभावित क्षेत्रको नक्साङ्कनका साथै त्यस ठाउँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नका लागि पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । पूर्व अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै रेडक्रसका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार