शेखरको क्षेत्रबाट उम्मेदवारी दिने रमेशजंगको दाबी

विराटनगर । नेपाली कांग्रेस नेता रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने दाबी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य रायमाझी कांग्रेसको प्रदेश १ समितिका उपसभापति हुनुहुन्छ ।

संस्थापन पक्षका नेता रायमाझीले डा. शेखर कोइरालालाई चुनौती दिदै क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने बताउनुभएको हो । उहाँले उम्मेदवार बन्नका लागि पार्टी भित्र छलफल पनि सुरु गरेको बताउनुभयो । २०७४ सालमा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा डा. शेखर कोइराला उम्मेदवार बन्नुभएको थियो । त्यतिबेला उहाँ नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितसँग पराजित हुनुभएको थियो ।

डा. शेखर क्षेत्र नम्बर ६ छाडेर क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुपर्ने रायमाझी बताउँनुहुन्छ । क्षेत्र नम्बर ६ मा पार्टीको उपस्थिति कमजोर भएको बताउँदै उहाँले पार्टीलाई विजयी गराउन आफूले उम्मेदवारी दाबी गरेको बताउनुभयो । ‘उहाँ कोइराला परिवारको मान्छे, मोरङ क्षेत्र नम्बर २ गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो,’ उहाँले भन्नुभयो, ‘क्षेत्र नम्बर २ मा उहाँलाई सजिलो हुन्छ ।’

मोरङ क्षेत्र नम्बर २ बाट ०७४ सालमा नेता डा. मिनेन्द्र रिजाल निर्वाचित हुनुभएको थियो । डा. शेखर क्षेत्र नम्बर २ मा जाँदा मिनेन्द्रले छोड्ने रायमाझीको तर्क छ । ‘शेरबहादुर देउवाले यहाँबाट उठ्छु भन्दा मैले छोड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मिनेन्द्र रिजालको नेता डा. शेखर हो, महाधिवेशनमा शेखरको प्यानलबाट महामन्त्री उठ्नुभएको थियो, उहाँ (शेखर)ले उठ्ने हुँदा मिनेन्द्रले छोड्नुपर्छ ।’

डा. शेखरले उमेरका कारणले पनि राजनीतिक गतिविधिमा सक्रिय हुन नसक्ने बताउँदै भन्दै रायमाझीले अब यो क्षेत्रबाट आफू उम्मेदवार हुने बताउनुभएको हो । मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गुरुराज घिमिरेले प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गर्नुभएको छ । सो क्षेत्रबाट यसअघि नेता महेश आचार्य उम्मेदवार बन्नुभएको थियो । ०७४ को चुनावमा उहाँ माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग पराजित हुनुभएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार