संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगरौँ : सभामुख श्रेष्ठ

मकवानपुर । वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका बारेमा अनुमानको भरमा टिप्पणी बन्द गर्नुपर्ने बताउनुभयो । सभामुख श्रेष्ठले सरकारले गरेको कामको प्रभावकारिताको मूल्यांकन गरेर अघि बढ्दा नै आगामी दिन र पुस्तालाई सहयोग पुग्ने बताउनुभयो । सभामुख श्रेष्ठले वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटपछि प्रदेश सरकारले गरेको कामको समीक्षा गर्ने पनि बताउनुभयो ।

उहाँले प्रदेश सरकारले गरिरहेका कामको समीक्षा हुन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा वागमती प्रदेश सांसद सीता लामाले अपाङ्गता भएको व्यक्तिको लागि बजेट प्रदेशले आवश्यक बजेट छुट्याउन नसकेको बताउनुभयो । उहाँले सामाजिक वृद्धि विकास गर्ने कुरा नीतिमा कागजमै सिमित भएको तर बजेटमा आउन नसकेको बताउनुभयो । कार्यक्रममा वागमती प्रदेश सांसद सरेश नेपालले नेपाली समाजमा महिलाहरूमा सबैभन्दा ठूलो समस्या सम्पतिको अधिकारको व्यवहारिक उपयोगको रहेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तन र त्यसका असर ध्यानमा राखेर नदी किनारमा सडक र बस्ती बसाल्ने कुरालाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वागमती प्रदेशसभाका सांसद डा. राजाराम कार्कीले दिगो विकासको लक्ष्य प्राप्त गर्नलाई प्रतिवर्ष ३४ अर्ब नेपाली पुँजीगत खर्च गर्नुपर्ने अवस्था रहेपनि साधारण खर्च बढी हुने गरेको बताउनुभयो । कार्यक्रममा वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आले मगरले नागरिकले नागरिकमैत्री ऐन भन्दापनि नागरिकमैत्री विकास चाहेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार