सरकारले पेट्रोलको मूल्य बढाएर अनैतिक काम गर्यो : यज्ञराज सुनार

काठमाडौँ । नेकपा(एमाले)का सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर अनैतिक काम गरेको बताउनुभएको छ । मूल्यवृद्धि अवैधानिक भएको पनि उहाँले बताउनुभयो । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले मूल्य वृद्धिको सम्बन्धमा धेरै प्रश्न र शंकाहरु उब्जिएको भन्दै उहाँले त्यसको छानविन गर्न संसदीय समिति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘यो अनैतिक छ । यो अचाक्ली छ । यो अवैधानिक र अप्रत्यासित छ । जुन ढंगले मूल्यवृद्धि गरिएको छ, यसले केवल मन्त्रीको वा गठबन्धनवालाको मात्रै हुर्मत लिएको छैन, राजनीतिको हुर्मत लिएको छ । त्यसकारणले यो अनैतिक छ । गठबन्धन र सरकारले अनैतिक काम गरेको छ । यसमा धेरै प्रश्नहरु, शंकाहरु उठेका छन् । त्यसकारणले छानविन समिति बनाउनुपर्दछ । र सरकारले मूल्यवृद्धि फिर्ता लिनुपर्दछ ।’

जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै नेकपा (एमाले) का सांसद गणेश पहाडीले प्रचलित कानूनको प्रावधानलाई उल्लंघन गरेर मूल्यवृद्धि गरिएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको असरस्वरुप अन्य विभिन्न खाद्य र गैरखाद्य वस्तुमा पनि मूल्यवृद्धि भएको उल्लेख गर्दै बजार अनुगमन हुन नसकेको बताउनुभयो । बजार अनुगमन नगरेर सरकार निकम्मा भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो– ‘यो मूल्यवृद्धि प्रचलित कानूनको प्रावधानलाई उल्लंघन गरेर, जनताको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्नेगरी यो मूल्यवृद्धि गर्यो । अहिले अत्याधिक कर लागिरहेको छ, यो करलाई पनि घटाउन सकिन्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारणले समग्र क्षेत्रमा असर परिरहेको छ ।

बजार अनुगमन गर्न सकिरहेका छैनौँ । सरकार निकम्मा भइरहेको छ । बजार अनुगमन गर्न नसकेको कारणले गर्दाखेरी, बजारलाई अनुशासित बनाउन नसकेका कारणले गर्दाखेरी धेरै खाद्य र गैरखाद्य वस्तुहरुको मूल्यवृद्धि भइरहेको छ । त्यतातर्फ पनि त्यो मूल्यवृद्धि घटाउने तर्फपनि हामीले सोच्नुपर्ने जरुरी छ ।’उहाँले पेट्रोलियम पदार्थको साथसाथै अन्य वस्तुको मूल्यवृद्धि घटाउनतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार