सवारी दुर्घटना हुँदा वीरगञ्जका दुई वडाध्‍यक्षसहित ८ जना घाइते

वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् ।

घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा सामान्य चोट लागेको छ भने मनोजको दायाँ कुममा चोट लागेको छ । यस्तै घाइते हुनेहरुमा वडा नं २४ का वडा सदस्य ३० वर्षीय सद्दाम हुसेन आलम, वडा नं २५ का वडा सदस्य ३१ वर्षीय जगदिश साह र वडा नं ३२ की दलित महिला सदस्य ३१ वर्षीया पुजादेवी राम पनि घाइते भएकी छिन् ।

उनीहरुको निधार, टाउको, गाला, हातमा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नं १७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षीय सन्त यादव पनि घाईते भएका छन् । सवारी चालक भानु भने दुर्घटनापछि फरार छन् ।

शुक्रबार बिहान साढे १ बजे जीपलाइनस्थित कान्तिलोकपथ सडकखण्डमा गढी दरबारतर्फबाट आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप अनियन्त्रितत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।उनीहरुको उद्दार गरेर उपचारका लागि चुहेहिल अस्पताल हेटौंडामा पठाईएको थियो । पछि चुरेहिलले थप उपचारका लागि भरतपुर रिफर गरिदिएको थियो ।

वीरगञ्ज महानगरपालिकामा शुक्रबार हुने कार्यपालिकाको निर्वाचनका लागि उनीहरु वीरगञ्ज जाँदै थिए । कार्यपालिका निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित १ सय ६२ जना जनप्रतिनीधिले मतदानमा सहभागी हुन पाउँछन् । ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि निर्वाचन भईरहेको छ ।

५ जना महिला सदस्यका लागि १० जना र ३ जना दलित वा अल्पसंख्यक सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । बिहान १० बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले तोकिएको समयभित्र मतदान प्रक्रियामा सहभागी नभएको खण्डमा मत खसाल्न नपाउने जानकारी दिए ।

‘ दुर्घटनामा परेर २ जना चितवनको भरतपुर मेडिकल कलेजमा र एक जना वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । भन्ने जानकारी मलाई पनि आएको छ ।’ उनले भने ‘ अस्पताल लगेर मतदान गराउन मिल्ने कानुनी व्यवस्था छैन, मतपत्र बाहिर लैजान मिल्दैन । एम्बुलेन्समा लिएर आउँदा एकाघरका सदस्यको सहयोगमा मतदान प्रक्रियामा सहभागी गराउन सकिन्छ । ’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार