सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि भएन : झा

काठमाडौँ । सांसद अनिलकुमार झाले बजेट निर्माणमा सांसदको भूमिका नहुनु दुःखद रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सिंगो संसद र सांसदहरुको हविगत बढो कहालीलाग्दो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जुन संसदले देशको नीति निर्माणको काम गर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित सबैभन्दा ठूलो जिम्मेवारीको पद मानिन्छ ती सांसदहरुको यो बजेट निर्माणमा के भूमिका छ ? कुनै भूमिका छैन । अहिले सरकारमा हालीमुहाली रहेका नेताहरुको क्षेत्रमा बजेट अलि बढी नै होला । के यो बजेटमाथि मैले भनेको कुराहरु पनि छ भन्ने सांसदहरुको अवस्था होला ? कुनै पनि त्यस्तो ठाउँ छैन ।

सम्पूर्ण सांसदहरुको र सिंगो संसदको यसमाथि स्वामित्व रहनुपर्छ ।’ उहाँले सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि नभएको बताउँदै सांसदको गरिमा कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘म बढो लज्जाका साथ भन्न चाहन्छु, कतिपय मामिलामा आजका हामी सांसदहरु भन्दा वडाध्यक्षहरुलाई अझ बढी सक्रिय देख्छन् । यो कुरालाई सरकारले नोट गर्नुपर्छ । सांसद र संसदको गरिमा रक्षा गर्नु हाम्रै कर्तब्य हो ।

यो काम संसदले गर्न सकेको छैन, यसमा मलाई दुःख लागिरहेको छ ।’ उहाँले सार्वजनिक खरिद अनुगमन कार्यालय आवश्यक छ भने काम दिनुपर्ने अन्यथा किन राख्नुपर्यो भन्दै प्रश्न गर्नुभयो । सांसद झाले सुरक्षित नागरिक आवास कार्यक्रम बजेटमा कतैपनि नभेटिएको बताउनुभयो । उहाँले त्यो कार्यक्रम व्यवस्थित गर्नुपर्ने र त्यो कार्यक्रमलाई पालिका स्तरमा सार्नुपर्ने बताउयनुभयो।

घडेरी र घर नभएका जनतालाई भनेर राखिएको जनता आवास कार्यक्रमले पूर्णता नपाएको बताउनुभयो । कार्यक्रम लागू भएपनि धेरै ठाउँमा अधुरा घरहरु रहेको र सरकार त्यसमा उदासिन रहेको छ । प्रदेशले केन्द्रले बजेट नदिएको भन्ने र केन्द्रले प्रदेशलाई बढी घर बनाएको आरोप लगाउने गरेकोले घर बन्न नसकेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार