सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित

म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।सिङ्गाको सहरी स्वास्थ्य केन्द्रको भवनमा आयोजित शिविरमा ६० जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भिआइए जाँच गरिएको थियो । भिआइए परीक्षणका क्रममा कुनै पनि महिलामा जटिल खालको समस्या नरहेको पाइएको जनाइएको छ । सोही अवसरमा नसर्ने रोग सुगर, प्रेसरको महिला ३९ र पुरुष २८ गरी ६७ जनाले परीक्षण गराएका थिए ।

नसर्ने रोगको परीक्षण गराएकामध्ये उच्च रक्तचाप (प्रेसर)तर्फ महिला ४ जना र पुरुष ६ जना तथा सुगरका एकएक जना महिला÷पुरुष गरी कुल ८ जनालाई रिफर गरिएको सिङ्गा स्वास्थ्यचौकीले जनाएको छ । यसअघि शिविरलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगर प्रमुखमा निर्वाचित भएर पदबहाली गर्ने क्रममा तीनवटा स्वास्थ्यसम्बन्धी निर्णय गरिएको हुँदा सोहीअनुसार शिविरको आयोजना गरिएको बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले निःशुल्क स्वास्थ्य शिविरबाट रोगको परीक्षण गरी स्वास्थ्यलाभ लिन सर्वसाधारणलाई आग्रह गर्नुभएको थियो ।

शिविरको बेनी अस्पताल म्याग्दीका स्त्रीरोग विशेषज्ञ डाक्टर साजना श्रेष्ठ, सिनियर अनमी रुविना थापा, घतान स्वास्थ्यचौकीका सिनियर अनमी डेकमाया केसी र ज्यामरुककोट स्वास्थ्यचौकीका सिनियर अनमी करुणा थापाले भिआइए जाँच, उपचार तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । सोही अवसरमा सिङ्गा स्वास्थ्यचौकीका इन्चार्ज हरिलाल अधिकारी, सिनियर अनमी दिलकुमारी थापा, सिनियर अहेव शर्मिला पौडेल र सहरी स्वास्थ्य केन्द्र प्रमुख अनमी संगम खत्रीले नसर्ने रोगको परीक्षण एवं उपचार गर्नुभएको थियो ।

महिलाहरुको पाठेघरमा मुखको क्यान्सर परीक्षण गरी रोग पत्ता लगाउन, उपचार गर्न, रोकथाम तथा नियन्त्रण गरी समुदायस्तरमा सचेतना जगाउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बेनी नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लिला गौतमले बताउनुभयो । गएको जेठ १५ गते बेनी नगरपालिकाले नगरका सबै वडामा ४५ वर्षदेखि माथिका सर्वसाधारणलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको सुरुवात गरेको थियो । सोहीअन्तर्गत सिङ्गामा भिआइए जाँच शिविर आयोजना गरिएको जनाइएको छ भने अब नगरपालिकामार्फत ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिनेछ ।

आगामी दिनमा आवश्यकताअनुसार अन्य वडाहरुमा पनि महिलाको पाठेघर खस्ने रोगको भिआइए जाँचसम्बन्धी शिविर सञ्चालन गर्ने बताइएको छ । पाठेघरसम्बन्धी समस्या धेरै महिलाहरुले खुलेर नबताउने हुँदा पाठेघरमा मुखको क्यान्सर हुने गरेको पाइन्छ । जसका कारण महिलाको ज्यानै जान सक्ने खतरा हुन सक्ने भएकाले समय समयमा पाठेघरको मुखको परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने तथा असुरक्षित यौन सम्पर्क गर्नाले पाठेघरमा क्यान्सरको जोखिम बढ्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार