स्वास्थ्य मन्त्रीमा बढुवा हुने भए भवानी खापुङ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ । अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनुभएको छ ।

एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउने निर्णय भएको छ। खापुङ तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । उहाँ २०७० को संविधान सभामा पनि सदस्य हुनुहुन्थ्यो ।

श्रेष्ठका अनुसार नेपालले मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री बनाउने नाम बुझाउनुभएको छ । श्रेष्ठले आफू पर्यटन मन्त्री बन्न लागेको जानकारी दिनुभयो। सांसद हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन्। केसी र सहरी विकास मन्त्री बन्न लागेका चौधरी दुबै जना दाङका सांसद हुनुहुन्छ।

यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री हुनुहुन्थ्यो।उहाँहरू गत असोज २२ गते मन्त्री बन्नुभएको थियो । नयाँ मन्त्रीहरूको सपथ सोमबार हुने सम्भावना छ। आइतबार सार्वजनिक विदा हो। राष्ट्रपति कार्यालय स्रोतले अहिलेसम्म सपथको कुनै तयारी नभएको बताएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार