हामीले कमजोर सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताउनुभएको छ ।एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राती इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उहाँले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

‘प्रिय नेपाली समर्थकहरु, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उहाँले लेख्नुभएको छ, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरु । अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’यस्तै अल्मुताईरीले एसियन कप छनोटमा खराब प्रदर्शनको दोष आफूलाई जाने भन्दै खेलाडीलाई दोष नदिन आग्रह गर्नुभएको छ । ‘म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्,’ अलमुताईरीले लेख्नुभएको छ ।

अर्को वर्ष हुने एसियन कपका लागि कुवेतमा अन्तिम चरणको छनोट खेलेको नेपाल सबै तीन खेल हार्दै अंकविहिन भएर समूह ए को पूछारमा रह्यो । पहिलो खेलमै बलियो जोर्डनसँग २–० ले पराजित रहँदा पनि प्रशंसा बटुलेको नेपाली टोलीको प्रदर्शन अन्तिम खेलमा आउँदा लज्जास्पद रह्यो । दोश्रो खेलमा घरेलु टोली कुवेतसँग ४–१ ले हारेको नेपाल अन्तिम खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भयो ।

कुवेत विरुद्धको दोश्रो खेलमा अचेत भएर मैदान ढलेका प्रशिक्षक अल्मुताइरी अन्तिम खेलमा भने टेक्निकल एरियामा हुनुहुन्थ्यो । प्रशिक्षक किरण श्रेष्ठ डगआउटमा हुनुहुन्थ्यो । नेपालले खेलेको तीनवटै विपक्षी नेपाल भन्दा बलियो र माथिल्लो वरीयताका टिम हुन् । अहिलेसम्म नेपालले यी तीनै टिमलाई हराउन सकेको छैन । खेलाडी र प्रशिक्षक विवाद पछि नियमित कप्तान किरण कुमार लिम्बुसहित ११ खेलाडी बाहिर राख्दै अल्मुताइरीले नयाँ टोली लिएर कुवेत पुग्नुभएको थियो ।

दुई महिनाअघि काठमाडौंमा बन्द प्रशिक्षण सुरु गरेकै दिन अल्मुताइरीले नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताउनुभएको थियो । जसले गर्दा उहाँको आलोचना समेत भयो । त्यसपछि होटलमा कि होस्टलमा बस्ने विषयबाट सुरु भएको विवादले गर्दा १० जना खेलाडीले प्रशिक्षण छाडे । माल्दिभ्सबाट खेलाडीको समर्थनमा सामाजिक सञ्जालमा लेखेका किरण पनि टिममा परेनन् । त्यसपछि अल्मुताइरीले नयाँ र कम अनुभवी खेलाडी लिएर कुवेत गए । जहाँ उहाँले पहिलो पटक टिममा परेका चार मध्ये तीन खेलाडीलाई डेब्यु गराउनुभयो । तीन अनक्याप्ड गोलकिपर मध्ये दीप कार्कीले पनि डेब्युको अवसर पाउनुभयो ।

पहिलो खेलमा दीपसहित डिफेण्डर विकास तामाङले डेब्यु गर्नुभएको थियो । तेश्रो खेलमा डिफेण्डर शिव गुरुङ र मिडफिल्डर निर कुमार राईले डेब्यु गर्नुभयो ।मिडफिल्डर रोसन राना मगरले भने डेब्यु गर्ने अवसर पाउनुभयो । यस्तै किरण टिममा नपरेपछि नवयुग श्रेष्ठले यसपटक नेपालको नेतृत्व गर्नुभयो । जोर्डन र कुवेत विरुद्ध कप्तानी गरेका नवयुगलाई विश्राम तेश्रो खेलमा विश्राम दिएर पुजन उपरकोटीलाई कप्तानको जिम्मेवारी दिइएको थियो । छनोटमा १३ गोल खाएको नेपालले मात्र १ गोल गरेको छ । त्यो गोल दर्शन गुरुङ्गले कुवेतविरुद्ध गरेका थिए ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार