हैजा उपचारका लागि अस्पतालहरु तयारी अवस्थामा छन् : निर्देशक दास

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा उपस्थित भएका निर्देशक दासले हालसम्म नेपालमा १२ जनामा हैजाको जिवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको बताउनुभयो ।

‘चार वटा केस बाँकी छ, एउटा केस आईसीयूमा पनि गयो’ उहाँले भन्नुभयो । हैजाको उपचारका लागि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ । हाल हैजाका बिरामीको निजी क्षेत्रको बयोधा अस्पताल र स्टार अस्पतालले पनि उपचार गरिरहेका छन् ।

निर्देशक दासका अनुसार बागबजार, सानेपा र डिल्लीबजार क्षेत्रको पानीमा हैजाको जिवाणु भेटिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि १० वटा नमुना परीक्षण गरिएको उहाँले बताउनुभयो ।काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको निर्देशक दासको भनाइ छ । बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको पनि दासले बताउनुभयो ।

सांसदहरुले हैजाले भयंकर रुप लिन सक्ने भन्दै सरकारी निकायलाई सचेत हुन खबरदारी गरेका छन् । काठमाडौंको बागबजारबाट सुरु भएको हैजा फैलिदै गएको भन्दै उनीहरुले सरकारले बेलैमा नियन्त्रणका लागि कदम चाल्नुपर्ने बताउनुभयो ।कांग्रेस सांसद मानबहादुर विश्वकर्माले काठमाडौंको खानेपानीमा समस्या देखिएकाले बेलैमा सरकारले नागरिकलाई सचेत गराउनुपर्ने बताउनुभयो । ‘खानेपानी र ढल एकै ठाउँमा हुँदा पनि समस्या छ । जनतालाई बुझाउनुपर्छ । नत्र यसले भयंकर रुप लिन सक्छ’ उहाँले भन्नुभयो ।

सांसद तिलबहादुर महतले जारको पानीमा समेत समस्या देखिनु गम्भीर भएको बताउनुभयो । ‘समस्या परेपछि दौडधुप गर्नुहुन्छ तर दीर्घकालीन रुपमै समस्या आउन नदिन ख्याल गर्नुपर्छ । झाडापखाला विषयमा अलि बढी ख्याल गरेर जाऔं’ उहाँले भन्नुभयो । सांसद जगत विश्वकर्माले हैजा नियन्त्रणका लागि सरकारको तयारी के छ भनी प्रश्न गर्नुभयो । वर्षायाममा बाढी र डुवानको समस्या देखिँदा नागरिकले सफा पिउने पानी नपाउने भन्दै त्यस्तो अवस्थामा रोग फैलिन नदिन सरकारले तयारीबारे जानकारी माग गर्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार