६ महिनाभित्र ३ हजारलाई रोजगारी दिने पोखरा महानगरको नीति

कास्की । छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिलाउने घोषणा सहित पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार पोखरा सभागृहमा बसेको ११ औं नगरसभामा मेयर धनराज आचार्यले सो कार्यक्रम सार्वजनिक गरेका हुन् ।

१२ कक्षासम्मको अध्ययन सकेर बसेका विद्यार्थीलाई लक्षित गरी आचार्यले सो घोषणा गरेका हुन् । आफ्नो नीति तथा कार्यक्रममा मेयर आचार्यले ‘समुन्नत पर्यटकीय पोखरा’ भन्ने नारालाई विकासको प्रस्थान बिन्दु बनाएका छन् । जस अन्तरगत दीगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित शहरी विकास, उत्थानशील पर्यटकीय पुर्वाधार विकास लगायतका बुँदाहरु समेटिएका छन् ।

यसैगरी महानगरले ‘कृषि उत्पादनमा बृद्धि, महानगरको सम्बृद्धि’ को अवधारणा पनि आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । जसका लागि बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म भन्ने अभियान सञ्चालन गरिनेछ । मेयर आचार्यले आगामी दुई वर्षभित्र महानगरमा पोलका तारलाई भूमिगत बनाईने घोषणा गरे । यस्तो घोषणा उनी अघिका मेयर मानबहादुर जिसीले पनि गरेका थिए । तर उनको घोषणा घोषणामा मात्रै सीमित भयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार