एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

पर्सा । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा.महतले यो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।’

प्रवक्ता डा.महतले नेकपा (एमाले)गएको स्थानीय तहको निर्वाचनपछि एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उहाँको आरोप थियो । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा.महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

एक अर्को प्रसङ्गमा उहाँले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना कमै रहेको बताउनुभयो । निजी क्षेत्रलाई प्रतिस्पर्धी रुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

निजी क्षेत्रको सक्रिय सहभागिताबिना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उहाँको थियो । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उहाँले बताउनुभयो । रासस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार